झापा । जेन्जी आन्दोलनका क्रममा शहादत प्राप्त शहीदका परिवार तथा घाइतेको जिल्लागत प्रोफाइल तयार गरी उनीहरूको वास्तविक आवश्यकता र सरकारले घोषणा गरेको राहत प्याकेजबीच समन्वय गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले प्रोफाइल तयार गर्ने कार्य प्रारम्भ गरेको छ । जेन्जी शहीद परिवार तथा घाइतेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायत पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेजलाई वास्तविक मागसँग जोड्न सहज होस् भन्ने उद्देश्यले प्रोफाइल तयार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन । प्रोफाइलमा जेन्जी शहीद परिवार तथा घाइतेहरूको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षासहित मुख्य चार क्षेत्रमा विवरण समेटिने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार झापा जिल्लामा दुई शहीद परिवार छन् । जिल्लामा रहेका ४० जना जेन्जी घाइतेमध्ये ३७ जना प्रशासनको सम्पर्कमा छन् भने तीन जना हालसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कमा रहेका ३७ जनाले परिचयपत्रसमेत प्राप्त गरिसकेका छन् । केही दिनअघि संघीय स्वास्थ्य मन्त्रालयबाट घाइतेको अवस्थाअनुसार १८ जना जेन्जी घाइतेको वर्गीकृत सूची प्राप्त भएको थियो । उक्त सूची प्राप्त भएसँगै झापामा वर्गीकृत घाइतेको संख्या २८ पुगेको छ । वर्गीकरणअनुसारको परिचयपत्र उपलब्ध गराउन प्रशासनले आवश्यक तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । यसअघि गृह मन्त्रालयबाट १०९ जना जेन्जी घाइतेको प्रारम्भिक सूची प्राप्त भए पनि हालसम्म ३७ जना जेन्जी घाइतेले मात्र परिचयपत्र लिएको उनले जानकारी दिए । प्रोफाइल तयार भएपछि शहीद परिवार तथा घाइतेको आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षालाई मन्त्रिपरिषद्बाट स्वीकृत पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेजसँग जोडिने जनाइएको छ । अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउँदै राहत प्याकेज कार्यान्वयनमा सहजीकरण गर्ने आफ्नो कार्ययोजनामा प्रोफाइलले महत्वपूर्ण सहयोग पुर्याउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभएको छ । प्रोफाइल तयार गर्ने प्रयोजनका लागि जेन्जी शहीद परिवार तथा घाइतेहरूलाई जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आउन आग्रह गरिएको छ। आवश्यक समन्वय तथा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले सूचनासमेत सार्वजनिक गरेको छ ।