टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

  • शुक्रबार​ १६ असो २०८३ ०४:५१ PM
सिरहा । सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका वडा नं ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मप्र ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय (इभी) गाडीलाई विपरीत दिशाबाट आइरहेको मप्र ०३-००२ ख ३९९६ टिपरले ठक्कर दिँदा विद्युतीय गाडीमा सवार गोलबाजर नगरपालिका-४ की ४५ वर्षीया शोभाकुमारी गम्भीर घाइते भएकी थिइन् ।  उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए । अहिले उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका २२ वर्षीया प्रियङ्का यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौँ लगिएको जनाउँदै सूचना अधिकारी पालले अर्का घाइते गोलबजार-६ की ४५ वर्षीय ललिता महतोलाई थप उपचारका विराटनगर लगिएको बताए । ठक्कर दिने टिपरका चालक र टिपर प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।