राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

  • शुक्रबार​ १६ असो २०८३ ०२:३१ PM
काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधि सभाबाट विभिन्न संशोधनहरूसहित फिर्ता आएको सो विधेयकलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रश्तुत गरेका थिए । शुक्रबारको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गरेका थिए । लामो समयदेखि प्रक्रियामा रहेको यस विधेयकलाई अगाडि बढाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ । यस विधेयकको पारितसँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनका लागि आवश्यक कानूनी आधार तयार भएको छ । यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ  । मन्त्री पुनले यस विधेयकको महत्वबारे सदनलाई जानकारी गराउँदै यसको कार्यान्वयनले वैज्ञानिक अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।