काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गणेश विश्वकर्माले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको भन्दै दलित समुदायमाथि भएका विभेद तथा विभिन्न घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा शून्य समयमा उनले सरकारले अपेक्षाकृत ‘डेलिभरी’ दिन नसकी छ महिना पूरा गरेको बताए । उनले संसद्को पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलित समुदायप्रति क्षमा याचना गर्दै १५ दिनभित्र संरचनागत सुधारका कार्यक्रम ल्याउने घोषणा गरेको स्मरण गराए । उक्त घोषणापछि पाँच जनाको हत्या, एक जनाको आत्मदाह, तीन जना सुत्केरीमाथि विभेद, तीन वटा विद्यालयमा छुवाछूत, दर्जनभन्दा बढी मन्दिरमा विभेद, दुई जनामाथि सार्वजनिक बेइज्जती तथा विपद्का समयमा समेत जातीय विभेद भएको समाचार सार्वजनिक भएको उनले बताए । सांसद विश्वकर्माले राजनीतिक नियुक्तिमा ‘मेरिटोक्रेसी’का नाममा बहिष्करण भएको आरोपसमेत लगाए । उनले दलित विकास समिति, वादी विकास बोर्ड र ओबीसी विकास समिति विघटन गरिएको विषय पनि उठाए । त्यस्तै, दीपा नेपालीको १७० दिनको सत्याग्रह र दलित जेन्जी एलाइन्सको १३१ दिनको धर्नाको समेत सुनुवाइ नभएको उनले बताए । उनले दलित समुदायसँग सम्बन्धित यी विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रश्न गरे, ‘के हामी दलित सांसदले दसैँ, तिहार र छठलगायतका पर्वमा यही सन्देश लिएर दलित जनताका बिचमा जाने हो