१४ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

  • बिहीबार १५ असो २०८३ ११:३५ PM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले १४ शाखा अधिकृतको सरुवा गर्दा १४ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन् । मन्त्रालयका अनुसार बाँकेको राप्ती सोनारी र डुडुवा, सुनसरीको हरिनगर, काभ्रेपलान्चोकको भुम्लु, पाँचथरको मिक्लाजुङ, खोटाङको केपिलासगढी, रामेछापको दोरम्बा, मुस्ताङको बारागुङ मुक्ति क्षेत्र, सङ्खुवासभाको सभा पोखरी, पाल्पाको रैनादेवी छहरा, दोलखाको तामाकोसी, सुर्खेतको चौकुने, डोल्पाको छार्का ताङसोङ र कालिकोटको शुभकालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । १४ जना शाखा अधिकृतको सरुवा गर्दा मन्त्रालयले पाँच जनालाई पुनः गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । सामान्यतया एउटै गाउँपालिकामा दोहोर्‍याएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाउने अभ्यास कम हुने भए पनि यस पटक पाँच जना अधिकृतलाई पुनः गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । सरुवा सूचीअनुसार लेखनाथ भट्टराईलाई भुम्लु गाउँपालिका, काभ्रेपलान्चोकबाट मिक्लाजुङ गाउँपालिका, पाँचथरको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । त्यस्तै, विष्णुकुमार महतलाई दोरम्बा गाउँपालिका, रामेछापबाट डुडुवा गाउँपालिका, बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । वसन्त गिरीलाई बारागुङ मुक्ति क्षेत्र गाउँपालिका, मुस्ताङबाट दोरम्बा गाउँपालिका, रामेछापको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । श्याम शरण गैरेलाई छार्का ताङसोङ गाउँपालिका, डोल्पाबाट रैनादेवी छहरा गाउँपालिका, पाल्पाको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । त्यसै गरी, ध्रुवराज भट्टराईलाई शुभ कालिका गाउँपालिका, कालिकोटबाट राप्ती सोनारी गाउँपालिका, बाँकेको प्रमुख प्रशासकीय अधिकृतमा पुनः खटाइएको छ । मन्त्रालयको पछिल्लो निर्णयसँगै विभिन्न गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो ।