काठमाडौँ । बाढीले दुई दाजु गुमाएपछि पाँच जना अनाथ भतिज-भतिजीको भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्तामा रहेका सोनाम घोलेको घरमै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको टोली पुगेको छ । मन्त्रालयको पहलमा बाढीका कारण अभिभावक गुमाएका पाँचै बालबालिकालाई ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ मा समेटिएको छ । सोनाम ललितपुरमा थोरै जग्गा भाडामा लिएर आफ्नै परिवारसँग बस्दै आएका थिए । उनीसँगै दुई दाजु पनि आफ्ना छोराछोरीसहित बस्दै आएका थिए । दुवै दाजुका श्रीमती यसअघि नै बितिसकेका थिए । त्यसैले ती बालबालिकाका लागि उनीहरूका बुबा नै सबैभन्दा ठुलो सहारा थिए । परिवार पाल्न दुवै दाजु डकर्मीको काम गर्थे मजदुरीका लागि नुवाकोट पुगेका उनीहरू विनाशकारी बाढीपछि बेपत्ता भए । एकै पटक दुई दाजु गुमाएपछि सोनामसँगै रहेका चार जना र गाउँमा रहेका थप एक जना गरी पाँच जना भतिज-भतिजीको जिम्मेवारी उहाँकै काँधमा आइपुग्यो । आफ्नै परिवार पाल्न कठिन भइरहेको अवस्थामा पाँच बालबालिकाको शिक्षा, पालनपोषण र भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले सोनामलाई पिरोल्न थाल्यो । ‘अब यिनीहरूलाई कसरी हुर्काउने