‘पूर्वसांसद बस्नेतको निधनले स्तब्ध तुल्याएको छ’

  • बिहीबार १५ असो २०८३ ०५:३२ PM
काठमाडौँ । पूर्वसांसद मञ्च, नेपालले पूर्वसासद एवं संस्थाका उपाध्यक्ष घनेन्द्र बस्नेतको निधनले मञ्च परिवारलाई स्तब्ध तुल्याएको जनाएको छ । मञ्चले आज एक समवेदना जारी गरी उहाँको निधनप्रति गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ । उक्त मञ्चको उपाध्यक्षसमेत रहनुभएका बस्नेतको हिजो भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । विसं २००९ असोज २५ गते भोजपुर जिल्ला कुलुङ काम्लेटारमा जन्मिनुभएका पूर्वसांसद बस्नेत पञ्चायतको विरुद्धमा झापा आन्दोलनबाट बिद्रोह सुरु गरि  १७ बर्ष जेल जीवन बिताएका थिए । त्यस क्रममा उनले नख्खु जेल ‘ब्रेक’ गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने एक सादगी, निडर, निर्भिक निष्ठावान नेताको छवि स्थापित गरेको मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी समवेदनामा उल्लेख छ । मञ्चले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदनासमेत प्रकट गरेको छ ।