काठमाडौँ । नेपालको पहिलो चलचित्र ‘आमा’ प्रदर्शन भएको दिनको स्मरणमा आज दोस्रो राष्ट्रिय चलचित्र दिवस मनाइएको छ । चलचित्र विकास बोर्डले देशमा पछिल्लो समय आएको विपत्तिका कारण कुनै औपचारिक कार्यक्रम आयोजना नगरी आन्तरिक रूपमा शुभकामना आदानप्रदान गरी दिवस मनाएको हो । भोटेकोशी नदीमा गएको बाढीलगायत मौसमजन्य विपत्तिका कारण मुलुकका विभिन्न क्षेत्र प्रभावित भएकाले यस वर्ष दिवसलाई औपचारिक कार्यक्रम नगरी मनाइएको चलचित्र विकास बोर्डका सदस्य-सचिव सविनसिंह चौधरीले जानकारी दिए । दिवसका अवसरमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा, सदस्य सचिव चौधरीसहित कर्मचारीहरूको सहभागिता थियो । दोस्रो राष्ट्रिय चलचित्र दिवसका लागि चलचित्र विकास बोर्डले ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नारा तय गरेको छ । दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै बोर्डका कार्यवाहक अध्यक्ष शर्मा भने, “नेपालको पहिलो चलचित्र ‘आमा’ सार्वजनिक प्रदर्शन भएको दिनको विशेष स्मरणमा हरेक वर्ष असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने नेपाल सरकारको निर्णयअनुरूप आज नेपाली चलचित्र इतिहासकै एउटा गौरवशाली र ऐतिहासिक क्षणमा चलचित्र विकास बोर्डबाट ‘हाम्रो कथा, हाम्रो पहिचान, नेपाली चलचित्र राष्ट्रको सम्मान’ भन्ने नाराका साथ दोस्रो राष्ट्रिय चलचित्र दिवस मनाउने निधो भएको हो ।” “आजको यस विशेष दिनमा हामीले विगतको समीक्षा गर्दै वर्तमानका चुनौतीलाई चिरेर नेपाली चलचित्रको भविष्यलाई अझ बढी मर्यादित, व्यावसायिक र प्रविधिमैत्री बनाउने सङ्कल्प गर्नुपर्छ”, कार्यवाहक अध्यक्ष शर्माले भने, “नेपाली माटोको सुगन्ध, हाम्रो मौलिक संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतार्दै विश्वमाझ नेपालीपनको पहिचान फैलाउनु हामी सबैको साझा दायित्व हो ।” उनले नेपाली चलचित्र उद्योगको चौतर्फी विकास, चलचित्रकर्मीको हकहित संरक्षण तथा नेपाली चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र विकास बोर्ड नीतिगत सुधार र रचनात्मक कार्यमा निरन्तर रहने प्रतिबद्ध व्यक्त गरे । कार्यवाहक अध्यक्ष शर्माले नेपाली चलचित्रको जग बसाल्न योगदान पुर्याउनुहुने अग्रज चलचित्रकर्मीप्रति कृतज्ञता व्यक्त गर्दै विपद्बाट प्रभावित व्यक्ति तथा परिवारलाई सरकारले सुरु गरेको राहत तथा पुनःस्थापनाको कार्यमा सक्दो सहयोग गर्न बोर्ड सम्बद्ध सबैमा आग्रह गरे । यसैबीच सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सम्पूर्ण नेपाली चलचित्रकर्मी, कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्र क्षेत्रसँग आबद्ध सबैमा शुभकामना व्यक्त गरेका छन् । चलचित्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मन्त्री तिमिल्सिनाले नेपाली चलचित्रलाई कला, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचान उजागर गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेका छन् । नेपाली समाजका कथा, सम्वेदना र सृजनशीलतालाई पर्दामार्फत प्रस्तुत गर्दै चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा नेपाली चलचित्रकर्मीले पुर्याएको योगदानप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन् । राष्ट्रिय चलचित्र दिवसले नेपाली चलचित्रको इतिहास, योगदान र वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी दिनमा चलचित्र क्षेत्रलाई अझ व्यवस्थित, व्यावसायिक र विश्व बजारमा प्रतिस्पर्धी बनाउने दिशामा प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।