काठमाडौँ । प्रतिनिधिसभाले आर्थिक विषयसँग सम्बन्धित तीन विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । सभाको आजको बैठकले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘भुक्तानी तथा फछ्र्याैट (पहिलो संशोधन) विधेयक, २०८३ र ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ती विधेयक सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरे । बैठकमा पूर्वसांसद घनेन्द्र बस्नेतको यही असोज १४ गते निधन भएकामा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।