समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न

  • बिहीबार १५ असो २०८३ ०९:४१ AM
सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्पन्न भएको छ । पुल निर्माणका लागि २०८२ असार २० गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले २०८३ असोज ८ गते नै काम सकेको पूर्वाधार विकास कार्यालय चौरजहारीका कार्यालय प्रमुख रामचन्द्र बिसीले बताए। उनका अनुसार पुल निर्माणको कुल लागत ८ करोड ६९ लाख २७ हजार ९ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ । पुल निर्माणको जिम्मा ज्वालामुखी हिमशिखर हिरा जेभी, काठमाडौं–१०, नयाँबानेश्वरले लिएको थियो। निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न भएकाले स्थानीय वासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । पुल निर्माण भएपछि बाँफिकोट गाउँपालिका–३ र ४ का बासिन्दालाई विशेष गरी वर्षायाममा आवतजावत गर्न सहज हुने भएको छ । निर्माण सम्पन्न भएको पुलको बुधबार कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोकाले उद्घाटन गरे । उनले समय अगावै काम सम्पन्न गरेकोमा निर्माण व्यवसायीलाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्कालगायतको उपस्थिति थियो।