काठमाडौँ । यस वर्षदेखि काठमाडौँ महानगरपालिकाले आन्तरिक स्रोतबाट सुत्केरीका घरमा पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुत्केरी भएपछि आमा र नवशिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा हेरचाह गर्नुपर्छ । तर, सहरी जीवनको व्यस्तता, परिवारको बदलिँदो संरचना र स्वास्थ्य संस्थासम्म पुग्नु पर्ने बाध्यताका कारण उत्तर प्रसुति स्याहारमा चुनौती भएपछि महानगरपालिकाले यो सेवालाई आन्तरिक स्रोतबाटै प्रारम्भ गर्ने भएको हो । यो ‘उत्तर प्रसुति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ का नामबाट सञ्चालन हुनेछ । अस्पताल वा स्वास्थ्य संस्थामा बच्चा जन्मिएपछि आमा र शिशु सुरक्षित छन् भन्ने मात्र पर्याप्त हुँदैन । त्यसपछिका केही दिनलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्छ । कार्यक्रमअन्तर्गत सुत्केरी भएको तेस्रो र सातौँ दिनमा स्वास्थ्यकर्मी घरमै पुगेर आमा र नवशिशुको स्वास्थ्य जाँच गर्नेछन् । सुत्केरीपछिको अवस्थामा आमामा रक्तस्राव, संक्रमण, उच्च रक्तचापलगायतका समस्या देखिन सक्छन् । नवशिशुमा पनि विभिन्न स्वास्थ्य जटिलता आउन सक्छन् । यी जटिलता समयमा पत्ता लगाएर स्वास्थ्य जोखिम घटाउनु कार्यक्रमको उद्देश्य हो । घरभेटका क्रममा स्वास्थ्यकर्मीले समस्या पहिचान गरेर आवश्यकताका आधारमा व्यवस्थापन गर्ने र थप उपचार आवश्यक देखिएमा सम्बन्धित अस्पतालमा पठाउनेछन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार प्रसुतिपछिको पहिलो दुई दिनमा आमा र नवशिशुको स्वास्थ्य परीक्षण पाउने दर ७० प्रतिशत छ । स्वास्थ्य संस्थामा प्रसुति भएका महिलामा यो दर ८२ प्रतिशत रहे पनि स्वास्थ्य संस्थाबाहिर प्रसुति भएकामा २३ प्रतिशत छ । आर्थिक वर्ष २०८०/०८१ मा काठमाडौँ महानगरपालिकाभित्र १ दशमलव १८ प्रतिशत महिलाले २ पटकसम्म घरमै सुत्केरी जाँच गराउनुभएको थियो । आ