काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिङ तामाङले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् । तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको जानकारी दिएका हुन् । नेपाल सरकारबाट प्राप्त जिम्मेवारीलाई अवसरसँगै चुनौती र उत्तरदायित्वका रूपमा लिएको उल्लेख गर्दै उनले मुलुकको खाद्य सुरक्षा सुदृढ गर्ने तथा सर्वसाधारणलाई सहज र भरपर्दो रूपमा खाद्य वस्तु उपलब्ध गराउने कार्यमा आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन् । कम्पनीको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पदेन अध्यक्ष रहने व्यवस्था छ । तामाङ केही दिनअघि मात्रै सहसचिवबाट सचिवमा बढुवा भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन भएका थिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सञ्चालक समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारी र अर्थ मन्त्रालयका सहसचिव चिरञ्जीवी तिम्सिना रहेका छन् । त्यस्तै, विज्ञका रूपमा नृपबहादुर बोहरा र नानी महर्जन सञ्चालक छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला न्यौपाने पनि सञ्चालकका रूपमा रहेकी छन् भने कम्पनी सचिव घनश्याम अर्याल छन् । अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सचिव तामाङले खाद्य सुरक्षा, खाद्य वस्तुको सहज उपलब्धता तथा कम्पनीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन् ।