काठमाडौँ । नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका एक ज्येष्ठ नागरिकबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठुलो सहारा नै खोस्यो । परिवारको गुजारा चलाउन मजदुरीका लागि नुवाकोट पुगेका छोरा-बुहारी बाढीमा बेपत्ता भएपछि उनी एकै पटक सहाराविहीन भए । तर, उनको काखमा रहेका तीन जना नाबालक नाति नातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ । छोरा-बुहारी फर्कने बाटो हेर्दै गरेका तीन जना नाबालक नाति नातिनीलाई कसरी हुर्काउने, पढाउने र उनीहरूको भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले ती ज्येष्ठ नागरिकलाई थप पीडामा पारेको थियो । बुढेसकालमा आफ्नै सहारा गुमाएका उनीमाथि अब तीन नाबालकको जिम्मेवारीसमेत आइपरेको थियो । यही पिडाबिच अहिले उनका लागि आशाको खबर आएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अघि सारेको ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ मा तीनै जना बालबालिकालाई समेटिएको छ । यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो । योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ । आमाबुबा गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो । नाति नातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि ती ज्येष्ठ नागरिकका आँखामा पीडासँगै खुसीका आँसु देखिए । छोरा-बुहारी गुमाएको पीडा जीवनभर नमेटिने भए पनि नाति नातिनीको भविष्यका विषयमा राज्यले जिम्मेवारी लिएपछि उनको चिन्ता केही कम भएको छ । उनले भावुक हुँदै भने, ‘छोरा-बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ । तर मेरा नाति नातिनीको भविष्य सुरक्षित हुने भयो । अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन् । नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद ।’ बाढीले उनका छोराबुहारीलाई खोस्यो । बुढेसकालको सहारा खोस्यो । तर, त्यस विपत्तिले तीन बालबालिकाको भविष्य खोस्न सकेन । अब ती ज्येष्ठ नागरिकले नाति नातिनीको शिक्षा, पालनपोषण र भविष्यको सम्पूर्ण जिम्मेवारी एक्लै बोक्नुपर्ने छैन । राज्यले उनीहरूको संरक्षण र भविष्य निर्माणको जिम्मेवारी लिएसँगै विपद्को अँध्यारोबिच यी तीन बालबालिकाको जीवनमा आशाको नयाँ उज्यालो थपिएको छ ।