काठमाडौँ । अपाङ्गता भएका व्यक्ति एवम् सीमान्तकृत समुदायको राजनीतिक सहभागिता र अधिकारका विषयमा दुई दिने क्षमता अभिवृद्धि तालीम काठमाडौँमा सम्पन्न भएको छ । दलित अपाङ्गता भएका व्यक्तिको सङ्घ नेपाल (डिडान)को आयोजनामा तथा एनभीआरएफ र इक्युटी सोसाइटी नेपाल र पर्पल फाउण्डेसनको सहकार्यमा तालीम सञ्चालन गरिएको हो । डिल्लीबजारस्थित पेन्सन वासना होटेलमा असोज १३ गते मङ्गलवार र १४ गते बुधवार तालीम सञ्चालन भएको थियो । तालीमको सहजीकरण डिडानका अध्यक्ष कृष्ण गहतराजले गरेका थिए । तालीममा अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको राजनीतिक सहभागिता, अधिकार तथा नेतृत्व विकाससँग सम्बन्धित विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । तालीममा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीमध्ये ११ जना अपाङ्गता भएका व्यक्ति र नौ जना सपाङ्ग व्यक्ति रहेका थिए । तालीममा दलित, खस आर्य र आदिवासी जनजाति समुदायको प्रतिनिधित्व रहेको थियो । त्यस्तै, युवा तथा स्थानीय अपाङ्गता समन्वय समितिको समेत प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । तालीमले अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायलाई राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउन आवश्यक ज्ञान, क्षमता र अधिकारसम्बन्धी बुझाइ अभिवृद्धिमा जोड दिएको थियो ।