सुनसरी । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताए। आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने बताएका हुन्। उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्नसक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो।