काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले नेपालले संयुक्त राष्ट्रसंघको सदस्य बनेदेखि नै महासभालगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित, चासो र धारणा प्रस्तुत गर्दै आएको बताए । उनका अनुसार यसपटक नेपाल फरक राजनीतिक तथा सामाजिक परिस्थितिबीच महासभामा सहभागी भएको थियो । महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, नेपाली नागरिकको समृद्धि र सुशासनप्रतिको आकांक्षा तथा विश्व व्यवस्था र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको दृष्टिकोण प्रस्तुत गरिएको उनले बताए । मन्त्री खनालले हालै नेपालले भोगेको भोटेकोशी बाढीको घटनालाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाइएको बताए । उनले उक्त विपद्लाई ‘हिमाली सुनामी’का रूपमा उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र जलवायु न्यायको विषयलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गरिएको बताए । उनले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’मा गरेको सम्बोधन विभिन्न दृष्टिले महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्रीको सम्बोधनमा जलवायु न्यायसँगै नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषयहरू उठाइएको उनको भनाइ थियो । मन्त्री खनालले महासभामार्फत नेपालले राष्ट्रिय हित, जलवायु परिवर्तन, सुशासन तथा विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको बताए ।