मङ्गलवार दिउँसोको चर्को घाम । सामाखुसीस्थित राधा स्वामी सत्सङ भवनभित्र भने राहत सामग्रीको ओसारपसार र वितरणले भ्याइ नभ्याई थियो । विशाल हलको एक कुनामा कपडा, खाद्यान्नका बोरा, भाँडाकुँडा, त्रिपाल र ओढ्ने-ओछ्याउने म्याट लहरै मिलाएर राखिएका थिए । अर्को कुनामा राहतको आशामा आएका बाढीपीडितसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवा र उनको टोली आत्मीयताका साथ कुराकानी गरिरहेको थियो । त्यहाँ राहत लिन आउने प्रत्येक मानिसका पछाडि छुट्टा छुट्टै कथा थिए, कसैले आफन्त गुमाएका थिए, कसैको घर बास बाढीले बगाएको थियो, कसैले जीवनभरको कमाइ गुमाएका थिए । तर सबैको आवश्यकता एउटै थिएन । कसैलाई खाद्यान्न चाहिएको थियो, कसैलाई लत्ताकपडा र भाँडाकुँडा । कोही राहतभन्दा गाउँसम्म पुग्ने बाटो र पुल मागिरहेका थिए । त्यहीँ भेटिएका केही प्रतिनिधि दृश्यले भोटेकोसी र त्यस आसपासका बाढीपीडितको पीडा मात्र होइन, विपद्को समयमा मानवीय संवेदना र स्वाभिमानको कथा पनि सुनाउँछन् । ‘सेकेन्ड ह्यान्ड’ कपडामा जीवन धान्दै राहत सङ्कलन केन्द्रको एक कुनामा थिइन्, रसुवाको कालिका गाउँपालिका-३ की शर्मिला न्यौपाने । चार जनाको परिवारलाई डेरामै छाडेर उनी राधा स्वामी सत्सङ भवन आइपुगेकी थिइन् । डेरामा ५६ वर्षीय सासू आमा, ३२ वर्षीय श्रीमान् र ११ वर्षका छोरा छन् । पहिरो र बाढीले घरमा ठुलो क्षति पुर्याएपछि परिवार जायजेथा छाडेर ज्यान जोगाउन काठमाडौँस्थित आफन्तको शरणमा आएको थियो । प्रशासकीय अधिकृत बर्देवासँग कुरा गर्दै शर्मिलाले भनिन्, ‘हामीसँग अहिले लगाउने एकसरो कपडाबाहेक केही थिएन । काठमाडौँ आएपछि चिने जानेकासँग सेकेन्ड ह्यान्ड कपडा मागेर प्रयोग गरिरहेका छौँ । हामीलाई ठुलो कुरा केही चाहिएको छैन, भान्सामा प्रयोग हुने सामान्य पकाउने र खाने भाँडाकुँडा मात्रै भए पुग्छ ।’ बर्देवाले उनको काँधमा हात राख्दै भनिन्, ‘तपाईँहरूले चिन्ता नलिनुस् । तपाईँहरूलाई जे साँच्चै आवश्यक छ, हामी त्यही उपलब्ध गराउँछौँ । हामी तपाईँहरू बसेको ठाउँमा हेर्न आउने भनेको दुःख बुझ्न र थप सहयोग पुर्याउन हो, नदिने नियतले होइन ।’ राहत होइन, बाटो र पुल माग्ने पीडित सत्सङ भवनको अर्को छेउमा टोपी लगाएका एक पाका पुरुष बर्देवासँग गम्भीर छलफलमा थिए । बाढीले उनका पूज्य बुबालाई बगाएको थियो । व्यक्तिगत रूपमा १५ देखि २० लाख रुपैयाँ बराबरको सम्पत्ति पनि क्षणभरमै नष्ट भएको थियो । यति ठुलो बज्रपात सहिसकेका ती पुरुष राहतको सूचीमा चामल र दाल थप्न भने हतारमा थिएनन् । ‘हजुर, हामीलाई चामल वा दाल धेरै चाहिँदैन । अलिअलि राहत त पाएकै छौँ । यहाँ आएर बिग्रिने गरी धेरै चामल लगेर हामी के गरौँ