गृह मन्त्रालयका पाँच सहसचिव र तीन उपसचिवको सरुवा, ६ सिडिओ हेरफेर (सूची)

  • मङगलबार १३ असो २०८३ ११:०४ PM
काठमाडौँ । गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवसहित आठ जना कर्मचारीको सरुवा गरेको छ । गृहमन्त्री सुधन गुरुङले सोमबार मन्त्री स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेका हुन् । पाँच सहसचिव र तीन उपसचिवको सरुवा हुँदा सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । सरुवाको क्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्यलाई तीन महिनामै गृह मन्त्रालयमा तानिएको छ । उनले गत असार १० गते मात्रै रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेकी थिइन् । यसअघि पाल्पाको प्रमुख जिल्ला अधिकारी रहेकी बज्राचार्य करिब १० महिना पाल्पामा कार्यरत थिइन् । पाल्पाबाट उनको रामेछाप सरुवा पनि गृहमन्त्री गुरुङकै निर्णयबाट भएको थियो । रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको तीन महिना नपुग्दै बज्राचार्यको सरुवा भएपछि उक्त पद रिक्त राखिएको छ । त्यसबाहेक प्युठान, कपिलवस्तु, डोटी, सिराहा र गुल्मीका प्रमुख जिल्ला अधिकारीसमेत हेरफेर भएका छन् । एक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको समेत सरुवा गरिएको छ । गृह मन्त्रालयले गरेको पछिल्लो सरुवासँगै विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ ।