काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन र सामाजिक संरक्षण सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिसएबिलिटी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (डीएमआईएस) लाई सोसल इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (एसआईएमएस) मा प्राविधिक रूपमा एकीकृत गरिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र युनिसेफको सहकार्यमा सामाजिक संरक्षण नागरिक समाज सञ्जाल (एसपीसीएसएन) मार्फत कार्यान्वयन गरिएको डीएमआईएसलाई एसआईएमएसमा एकीकरण गर्ने कार्य सम्पन्न भएसँगै अपाङ्गतासम्बन्धी सूचना र सामाजिक संरक्षण व्यवस्थापनलाई एउटै डिजिटल प्रणालीमा जोड्ने आधार तयार भएको हो । प्रणालीको औपचारिक हस्तान्तरण २८ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ । हाल उक्त प्रणाली नेपालका ७५३ वटै स्थानीय तहमा विस्तार भइसकेको छ। यससँगै देशभर अपाङ्गता परिचयपत्र वितरण तथा सम्बन्धित तथ्याङ्क व्यवस्थापनलाई थप व्यवस्थित र एकीकृत ढङ्गले अघि बढाउन सकिने भएको छ । एकीकृत प्रणालीले अपाङ्गता परिचयपत्र वितरणका मापदण्डलाई मानकीकरण गर्न, तथ्याङ्कको अभिलेखीकरण तथा व्यवस्थापन सुधार गर्न र प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउनेछ । स्थानीय तहदेखि सङ्घीय तहसम्म आवश्यक सूचना सहज रूपमा उपलब्ध हुने भएकाले अपाङ्गता भएका व्यक्तिका लागि लक्षित सामाजिक संरक्षण कार्यक्रमको योजना निर्माण, सेवा प्रवाह र अनुगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । मन्त्रालयका अनुसार डिजिटल प्रणालीको विस्तारले अपाङ्गता भएका व्यक्तिसम्बन्धी तथ्याङ्कलाई विश्वसनीय, व्यवस्थित र प्रमाणमा आधारित निर्णय प्रक्रियासँग जोड्ने महत्त्वपूर्ण आधार तयार गरेको छ। यसबाट आवश्यकता पहिचान गरी सेवा तथा कार्यक्रमलाई थप लक्षित बनाउनसमेत सहयोग पुग्नेछ । नेपालका ७५३ वटै स्थानीय तहलाई एउटै डिजिटल प्रणालीमा जोड्दै गरिएको यो एकीकरणले अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक संरक्षण सेवालाई थप एकीकृत, तथ्यमा आधारित र प्रभावकारी बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको मन्त्रालयको भनाइ छ ।