काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष र कर्मचारीमाथि दुर्व्यवहार भएको छ । काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्षलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक व्यवहार भएको हो । छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा मंगलबार दिउँसो काउन्सिलका अध्यक्षको कार्यकक्षमा छलफल भइरहेको समयमा महासङ्घ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेका प्रेस काउन्सिलका सदस्य नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । छलफलका क्रममा समेत धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने भन्दै काउन्सिलले पेसागत माग राख्ने अधिकारको सम्मान गर्ने स्पष्ट पारेको छ । साथै संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहार गर्न पनि काउन्सिलले सचेत गराएको छ ।