‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत

  • मङगलबार १३ असो २०८३ १२:२४ PM
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत भएको छ । सैद्धान्तिक छलफलपश्चात् सर्वसम्मतिबाट स्वीकृत भएको सो विधेयकमाथि अब संशोधन पेस भई सम्बन्धित समितिमा छलफल हुनेछ । यसअघिको अध्यादेशबाट संशोधन गरिएका केही नेपाल ऐनका केही व्यवस्थाहरु निष्क्रिय भएकाले सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक ल्याएको हो ।      बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।       उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुशीला ढकाल आचार्यले उक्त विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर  कानुनी स्थायित्व कायम हुनुपर्नेमा जोड दिइन् ।       सांसद साजिदा खातुन सिद्धिकीले पुनर्जीवित गरिने सबै व्यवस्था संविधानसँग बाँझिए÷नबाँझिएको विषयमा स्पष्ट हुनुपर्ने बताइन् । कानुन कार्यान्वयन निकाय र समय सीमाबारे पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिइन् ।      सांसद अफ्साना बानुले त्यस विधेयकले प्रसाशनलाई अन्योलबाट बचाउने सुनिश्चिता हुनुपर्नेमा जोड दिइन् । सांसद एशुदाकुमारी बरालले अध्यादेशबाट शासन सञ्चालन गर्ने शैलीबाट माथि उठ्न सरकारसँग आग्रह गरिन् ।    उक्त विधेयकमाथिको छलफलमा सांसद आरेन राई, डा ललिता कुमारी, टुकाभद्रा हमाल, डा पुष्पराज कँडेल, बलावती शर्मा, पार्वती विक, गुरुप्रसाद बराल, गङ्गादेवी श्रेष्ठले छलफलमा भाग लिए ।       छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएका केही नेपाल ऐनका दफालाई पुनः जगाउने नीतिगत निर्णय गरेबमोजिम सरकारले विधेयक पेस गरेको जानकारी गराइन् ।