झापामा सुपथ मूल्य पसल सञ्चालन, चामलदेखि नुनसम्ममा छुट

  • सोमबार १२ असो २०८३ ०९:४३ PM
झापा । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गर्दै निम्न वर्गीय परिवारलाई राहत पुर्‍याउने उद्देश्यले झापामा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । झापा प्रशासनको संयोजनमा खाद्य सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनका उत्पादनमा विशेष छुटसहित बिक्री-वितरण हुने गरी सुपथ मूल्य पसल सञ्चालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । आधारभूत खाद्यान्नअन्तर्गत चामल, नुन, चिनी लगायतका भान्साका सामग्रीमा विशेष छुट उपलब्ध गराइनेछ । तत्कालका लागि सम्बन्धित संस्थानका परिसरबाटै खुला रूपमा बिक्री-वितरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । सुपथ मूल्य पसलबाट स्टिम जिरा चामलमा प्रतिकेजी पाँच रुपैयाँ तथा सोना मनसुली चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ । त्यसै गरी, नुनको प्रत्येक प्याकेटमा दुई रुपैयाँ छुट उपलब्ध गराइएको छ भने चिनी प्रतिकेजी ११० रुपैयाँमा बिक्री-वितरण गरिनेछ । बजारमा चामल, चिनी, नुनलगायतका आधारभूत वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न २५ वटाभन्दा बढी थोक विक्रेतामार्फत आपूर्ति हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्य वृद्धि गरी उपभोक्तालाई ठगी गर्ने जो–कोहीउपर प्रशासनले कडाइका साथ कारबाही अघि बढाउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । यसैबिच, जिल्ला प्रशासन कार्यालय झापाले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत संस्थागत सामाजिक उत्तरदायित्वको बोध गर्दै स्व स्फूर्त रूपमा उपभोक्तामैत्री विशेष छुट तथा राहतका प्याकेज सार्वजनिक गर्न आह्वान गरेको छ ।