सरकार अराजक ढंगले चल्नथाल्यो, शुभ संकेत छैन : भीष्मराज आङ्देम्बे

  • सोमबार १२ असो २०८३ ०७:३९ PM
पाँचथर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार अराजक ढंगले चलेको आरोप लगाएका छन् । सोमबार पाँचथरमा कांग्रेसको क्षेत्रीय अधिवेशनमा बोल्दै उनले सरकारका अराजक गतिविधिका कारण देशमा शुभ संकेत नदेखिएको पनि बताएका हुन् । ‘सरकार लोकतन्त्रको सामान्य मर्मलाई पनि नरुचाएर सरकार अराजक ढंगबाट चलेर राम्रो संकेत दिएको छैन,’ आङ्देम्बेले भने । उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउको विषयमा पनि प्रश्न उठाए । ‘राति पक्रेर किन लग्यो भन्ने थाहा छैन । मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न दिइएन,’ उनले भने, ‘कुनैपनि क्रियाकलापलाई सरकारले पारदर्शी बनाउन चाहँदैन ।’ सरकारका गतिविधि पूरै केटाकेटीका खेल जस्तो देखिएको उनले बताए । ‘जसरी पक्राउ गरिएको छ, छोडिएको छ । यो केटाकेटीको खेल भयो । उनको कमजोरी कानुनले केलाउला ।  तर, पक्राउ गर्ने पनि तरिका होला,’ उनले भने । प्रहरी पनि आदेश पालक जस्तो मात्रै देखिएको आङ्देम्बेले आरोप लगाए । उनले भने, ‘खुरुखुरु गएर ल्याएको छ । बर्दीधारी हुनुको एउटा नैतिकता प्रहरीले पनि कायम गर्न सकेको छैन ।’