काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य मनिषा उपाध्याय रु ६० हजारको खेल सामग्रीसहित सम्मानित भएकी छिन् । सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को तर्फबाट रु ६० हजार बराबरको क्रिकेट सामग्रीसहित उपाध्याय सम्मानित भएकी हुन् । नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुग्न सफल मनिषाको मिहिनेत, समर्पण र निरन्तरताको कदर गर्दै उक्त सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताका निर्देशक राज क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार असोज २७ गते अर्घाखाँचीमा आयोजना हुने ‘लेट रमादेवी मेमोरियल क्रिकेट कप’ को अवसरमा मनिषालाई रु ६० हजार बराबरको क्रिकेट सामग्री हस्तान्तरण गरिएको हो । “यो सहयोग क्रिकेट सामग्रीका रूपमा मात्र नभइ उनको मिहिनेतप्रतिको सम्मान र आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि सानो प्रोत्साहन हो”, विज्ञप्तिमा भनिएको छ । सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै मनिषाले आज प्राप्त खेल सामग्रीले आगामी दिनमा धेरै सहयोग पुग्ने बताइन् । यस्ता प्रकारका सम्मानले क्रिकेटमा थप उत्कृष्ट प्रदर्शन गर्न हौसला पनि पुग्ने उनको भनाइ छ । अन्तरराष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ताले मनिषालाई नेपाली महिला टिमकी उदाउँदो स्टारका रूपमा प्रशंसा गरेका छन् । “मनिषा अहिले नेपाली टोलीको महत्त्वपूर्ण सदस्य हुन् । उनीजस्ता प्रतिभावान् खेलाडीको हौसला बढाइराख्न यस्तो प्रकारको सम्मान प्रदान गर्न आवश्यक छ । आगामी दिनमा अन्य सङ्घ-संस्थाले पनि खेलाडीको हौसला बढाउने काम गरेको देख्न पाइयोस्”, अम्पायर गुप्ताले भनेका छन् ।