बाँके । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो । फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।” यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ । नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।