गैरकानूनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा : नेकपा सांसद राई

  • सोमबार १२ असो २०८३ ०३:४१ PM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद जयन्तीदेवी राईले मुलुकमा जारी विपद्को घडीमा सरकारले तीन तहको समन्वय र राजनीतिक सहमतिमा जोड दिनुपर्ने बताएकी छिन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कार्यशैली र पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीका सन्दर्भमा समेत प्रश्न उठाइन् । सांसद राईले विपद्को समयमा सरकारले एक्लै अघि बढ्नुको साटो सबै राजनीतिक दल र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । विस्थापितहरूको व्यवस्थापनबारे चिन्ता व्यक्त गर्दै सांसद राईले राहत शिविरमा रहेका बालबालिका, महिला, वृद्ध र बिरामीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिन् । सरकारलाई आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण उनले गराइन् । ‘यो विपद्को अवस्थामा म सरकारको आलोचना गर्न उभिएकी होइन, तर सबै तहमा समन्वय नहुँदा समस्या समाधान हुन सक्दैन,’ उनले भनिन्, ‘अपराधीलाई कारबाही हुनुपर्छ, यसमा दुईमत छैन । तर कानूनको धज्जी उडाउँदै, बिनापूर्जी र गैरकानूनी ढंगले गरिएको गिरफ्तारी निरंकुशताको पराकाष्ठा हो ।’ साथै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारीको प्रसंग उठाउँदै उनले सरकारको कदमलाई ‘तानाशाही र अलोकतान्त्रिक’ को संज्ञा दिइन् ।