गृह मन्त्रालयलाई पुनर्निर्माणका काममा लगाउन हुँदैन : सांसद अर्याल

  • सोमबार १२ असो २०८३ ०२:५७ PM
काठमाडौं । नेकपा एमालेकी सांसद पद्या अर्यालले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि छुट्टै कानुन आवश्यक रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । राहत तथा उद्धारका काम निर्देशिका र कार्यविधिबाट अघि बढाउन सकिए पनि अस्थायी पुनर्स्थापना र स्थायी पुनर्निर्माणलाई व्यवस्थित गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक देखिएको उनको भनाइ छ । पुनर्निर्माणसम्बन्धी कामको जिम्मेवारी दिन छुट्टै अधिकारसम्पन्न संयन्त्र निर्माण गर्नुपर्नेमा पनि जोड उनको थियो । गृह मन्त्रालयलाई पुनर्निर्माणका काममा लगाउन नहुने पनि उनले बताइन् । ‘विगतको अनुभव पनि छुट्टै खालको संयन्त्र निर्माण गर्न भन्छ, अहिले हामीले भनिराखेका छौँ, अहिले पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बनेको छ, गृह मन्त्रालयअन्तर्गत । गृह मन्त्रालयको काम भनेको शान्ति–सुरक्षा कायम गर्ने हो । उद्धारको काम गर्ने हो, अनुसन्धानको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन । त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ,’ सांसद अर्यालले भनिन् । पुनर्निर्माणलाई प्रभावकारी बनाउन छुट्टै स्वायत्त र अधिकारसम्पन्न निकाय आवश्यक रहेको बताउँदै उनले अधिकारसम्पन्न निकाय गठन गरि पुनर्निर्माणलाई तिब्रता दिनुपर्ने बताइन् । द्यिमान संयन्त्रबाट पुनर्निर्माणका काम अपेक्षित गतिमा अघि बढ्न नसक्ने उनको भनाइ छ । ‘छुट्टै खालको स्वायत्त, अधिकार सम्पन्न, जुन हामीले पहिले विपद् प्राधिकरण बनाएका थियौँ, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ,’ उनको भनाइ थियो, ‘छिटो परिणाम आउँछ, जनताले पनि छिटो राहत पाउँछ । होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन । तसर्थ छुट्टै खालको संयन्त्र बनाएर जाउँ भन्ने मेरो पनि सरकारलाई अनुरोध हुन्छ ।’