काभ्रे । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ । मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताए । अहिलेको यो अवरोधले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ । २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । देशको पूर्वी तथा मध्यक्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । यसले राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । त्यसैले राजमार्गमा हुने अवरोधको प्रत्यक्ष असर यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा पर्ने गरेको छ । विसं २०८१ को बाढीपछि सडक बगेका स्थानमा बनाइएका अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिए पनि यात्रा सहज हुन सकेको छैन । वर्षायाममा हिलो र घाम लाग्दा धुलो हुने डाइभर्सनमा सवारी चलाउन कठिन हुने गरेको चालकहरू बताउँछन् । बिपी रामार्गमा नियमित सवारीसाधन चलाउँदै आएका चालक विनोद दाहालका अनुसार डाइभर्सनको अवस्थाका कारण दैनिक सास्ती भोग्नुपरेको छ । “सडक बगेको ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा हिलो र धुलोको सास्ती त छँदैछ, बाटोको बेहाल अवस्थाका कारण साना गाडीले जताततै भुइँ छुन्छन् । गाडी त बिग्रन्छ नै, यात्रुको ज्यानको जोखिम मोलेर यात्रा गराउनुपरेको छ”, उनले भने । राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाको समस्या पनि उस्तै छ । रोशी गाउँपालिका–११ कालढुङ्गाका स्थानीय बुद्ध लामाका अनुसार बाढीले बस्ती र सडक दुवैमा ठूलो क्षति पुर्याएको थियो । “हाम्रो घरआँगन भएर जाने यो सडक नै हाम्रो जीवनको मुख्य आर्थिक आधार थियो। तर बाढीले बस्ती र सडक दुवै तहसनहस बनायो। अहिले अस्थायी डाइभर्सनबाट जसरी तसरी यातायात चले पनि धुलो, हिलो र फेरि पानी पर्दा आउने बाढीको त्रास कायमै छ”, उनले भने । उनले यस क्षेत्रको स्थायी समाधानका लागि छिटो र बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । स्थानीय सरकारको तर्फबाट पनि पुनर्निर्माणलाई तात्कालिक मर्मतमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित बनाउनुपर्ने माग उठाइएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर आगामी दिनमा जोखिम कम हुने गरी संरचना बनाउनुपर्ने बताएका छन् । “बिपी राजमार्ग पुनर्निर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक छ । राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बलियो संरचना बनाउनै पर्छ । दुई वर्षमा सडक पुनर्निर्माण गरिसक्ने दाबी गरेको सरकारले हाम्रा सुझावहरूलाई राम्ररी मनन गरी प्राविधिक अध्ययनका साथ काम अघि बढाओस् भन्ने स्थानीयको अपेक्षा छ”, उनले भने । उनले कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्याक नै परिवर्तन गरेर सुरक्षित भूभागबाट लैजानुपर्ने विकल्पसमेत अघि सारेका छन् ।नागरिकको सास्ती र स्थानीय तहको चासोबीच सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख ई