काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन र प्राविधिक सेवातर्फका गरी ८१ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयका अनुसार प्रशासन सेवातर्फका ४७ जना र प्राविधिक सेवातर्फका ३४ जना शाखा अधिकृतको सरुवा गरिएको हो । प्रशासन सेवातर्फ सरुवा भएका ४७ शाखा अधिकृतमध्ये आठ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। यससँगै बागलुङका बरेङ र बडीगार्ड तथा बाजुराका गौमूल र जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । त्यस्तै, प्युठानको सरुमारानी, सुर्खेतको चिङ्गाड, जुम्लाको तातोपानी र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि हेरफेर भएका छन् । आठ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर गर्ने क्रममा दुई जना शाखा अधिकृतलाई भने पुनः प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी दिइएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गादत्त भट्टलाई बाजुराको गौमूल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । त्यस्तै, बाजुराको जगन्नाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमन्त चुनारालाई सुर्खेतको चिङ्गाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ । सामान्यतया भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गर्दा एउटै शाखा अधिकृतलाई पुनः प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी दिने अभ्यास कम हुने गरेको छ । यस पटक भने दुई जना शाखा अधिकृतले अर्को स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी पाएका छन् । प्रशासन सेवातर्फका सरुवा भएका ४७ जना शाखा अधिकृत प्राविधिक सेवातर्फका सरुवा भएका ३४ जना शाखा अधिकृत