बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

  • आइबार​ ११ असो २०८३ ०३:५३ PM
काठमाडौँ । जापानको इची–नागोयामा  जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी सुरुआत गरेको छ । हिगाशियामा पार्क टेनिस सेन्टरमा आज भएको पुरुष डबल्सको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मङ्गोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अङ्कले पराजित गरेको हो । बास्तोला र खड्काको जोडीले पहिलो सेट सहजै आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेट मङ्गोलियाली जोडीले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट प्रतिस्पर्धात्मक बन्यो । अन्तितः बास्तोला र खड्काको जोडी उक्त सेट आफ्नो पक्षमा पार्दै विजयी भयो । यो जितसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब उक्त जोडीले क्वाटरफाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।