अर्घाखाँची । अविरल वर्षाका कारण अर्घाखाँचीका विभिन्न सडकखण्डमा पहिरो तथा लेदो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार केही स्थानमा प्रहरी टोली परिचालन गरी सडक खुलाउने काम भइरहेको छ भने दुई स्थानमा अवरुद्ध सडक पुनः सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीको कमान्डमा मातहतका प्रहरी टोली परिचालन गरी सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका-६ राजटारीदेखि घुम्तीसम्म सडकमा बिहान ६ः४० बजे पहिरो तथा लेदो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शीतगंगा नगरपालिका-१२ स्थित बसेरी जंगलमा बिहान ७ बजे सडक अवरुद्ध भएकोमा प्रहरी टोलीको पहलमा बिहान ८ः३० बजे सडक पुनः सञ्चालनमा आएको छ । त्यस्तै, मालारानी गाउँपालिका-५ भडारामा असोज १० गते बिहान १० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । शीतगंगा नगरपालिका-४ बरबोटमा असोज १० गते राति ११ बजे सडक अवरुद्ध भएकोमा असोज ११ गते बिहान ९ः०५ बजे सडक सुचारु भएको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले सडकखण्डमा थप पहिरो तथा लेदो खस्ने जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक फलबहादुर तामाङलाई ९८५७०८६०९९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।