१५ देशका ८५ प्रतिनिधि सहभागी सम्मेलन, आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको अधिकारमा जोड

  • आइबार​ ११ असो २०८३ १२:१९ PM
ललितपुर । आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी महिला तथा अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार, नेतृत्व, प्रतिनिधित्व र आत्मनिर्णयलाई सुदृढ गर्न क्षेत्रीय आन्दोलन तथा सामूहिक कार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । एसिया-प्रशान्त क्षेत्रका १५ देशका ८५ जना प्रतिनिधि सहभागी तेस्रो एसिया-प्रशान्त आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको क्षेत्रीय सम्मेलनले यस्तो प्रतिबद्धता जनाएको हो । ‘प्रतिरोधमा जरा गाड्दै, ऐक्यबद्धतामा उठ्दै, आन्दोलन सुदृढ गर्दै’ भन्ने मूल नाराका साथ सेप्टेम्बर २४ देखि २६ सम्म ललितपुरमा सम्पन्न सम्मेलनमा बङ्गलादेश, कम्बोडिया, इन्डोनेसिया, भारत, जापान, केन्या, म्यानमार, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, सामोआ, थाइल्यान्ड र टिमोर-लेस्टेबाट आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी महिला तथा किशोरी, उनीहरूका प्रतिनिधिमूलक संस्था तथा आन्दोलन, अधिकारकर्मी, सहयोगी र साझेदार सहभागी भएका थिए । सम्मेलनले आदिवासी अपाङ्गता भएका व्यक्ति तथा आदिवासी महिला र किशोरीले भोग्दै आएका आदिवासी पहिचान, अपाङ्गता, लैङ्गिकता तथा अन्य संरचनागत असमानताका कारण उत्पन्न अन्तरच्छेदीय भेदभाव र बहिष्करणप्रति ध्यानाकर्षण गराएको छ । उनीहरूको महत्त्वपूर्ण नेतृत्व र योगदानका बाबजुद आदिवासी जनजाति, महिला अधिकार र अपाङ्गता अधिकार आन्दोलन तथा निर्णय प्रक्रियाका विभिन्न तहमा उनीहरूको आवाज, अधिकार र प्राथमिकता अझै पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको सम्मेलनको निष्कर्ष छ । अधिकारकर्मी तथा परिवर्तनका नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्नेमा जोड राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ-नेपाल (एनआईडीडब्ल्यूएएन) ले सन् २०२१ देखि आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी महिला तथा किशोरीको अधिकार र नेतृत्वका विषयमा क्षेत्रीय संवाद तथा आन्दोलन निर्माणको पहल गर्दै आएको छ । सन् २०२४ मा सम्पन्न पहिलो क्षेत्रीय सम्मेलनमा आठ देशका १६ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ९७ जना सहभागी भएका थिए । सोही क्रममा एसिया-प्रशान्त आदिवासी महिला तथा अपाङ्गता भएका किशोरी सञ्जाल ९एपीआईडब्ल्यूडीएन० लाई सामूहिक क्षेत्रीय मञ्चका रूपमा स्थापना गरिएको थियो । सन् २०२५ को दोस्रो क्षेत्रीय सम्मेलनले नेपालसहित एसिया-प्रशान्तका सात देशबाट ७६ भन्दा बढी सहभागीलाई एकत्रित गर्दै सामूहिक नेतृत्व, ऐक्यबद्धता र पैरवीलाई थप सुदृढ गरेको थियो । सन् २०२६ को तेस्रो सम्मेलनले यस क्षेत्रीय यात्रालाई अझ समावेशी, प्रतिनिधिमूलक, जबाफदेही र दिगो आन्दोलनका रूपमा अघि बढाउने आधार तयार गरेको सम्मेलनमा जनाइएको छ । सम्मेलनमा आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीलाई केवल लाभग्राहीका रूपमा नभई हकवाला, नेता, ज्ञानका संवाहक, संस्कृति तथा समुदायका संरक्षक, अधिकारकर्मी तथा परिवर्तनका नेतृत्वकर्ताका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सामूहिक कार्यका लागि १० प्राथमिकता सम्मेलनबाट जारी सामूहिक आह्वानले आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी महिला तथा अपाङ्गता भएका महिला तथा किशोरीको अधिकार सुनिश्चित गर्न राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा सामूहिक कार्यका लागि १० प्राथमिकता अघि सारेको छ । आह्वानमा नेतृत्व, अर्थपूर्ण सहभागिता र निर्णय प्रक्रियामा प्रतिनिधित्व सुनिश्चित गर्ने, लैङ्गिकता, आदिवासी पहिचान, अपाङ्गतालगायतका आधारमा हुने अन्तरच्छेदीय भेदभाव सम्बोधन गर्ने तथा कानुनी मान्यता, संरक्षण र अपाङ्गता भएका व्यक्तिको खण्डीकृत तथा विश्वसनीय तथ्याङ्क प्रणाली सुदृढ गर्न आग्रह गरिएको छ । त्यस्तै, भौतिक, डिजिटल, सञ्चार, संस्थागत तथा सांस्कृतिक पहुँच र पहुँच युक्तता तथा उपयुक्त अनुकूलताको समायोजन सुनिश्चित गर्न, हिंसा, यौन दुर्व्यवहार, शोषण तथा विभेदको रोकथाम, संरक्षण, न्याय र सहयोगका संयन्त्र सुदृढ गर्न आह्वान गरिएको छ । शिक्षा, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, रोजगारी, जीविकोपार्जन, सामाजिक सुरक्षा र आर्थिक अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ । आदिवासी भूमि, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा आत्म निर्धारित विकासको अधिकार संरक्षण गर्दै जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, समुदायमा आधारित नेतृत्वमा आधारित अनुसन्धान, तथ्याङ्क तथा ज्ञान उत्पादनमार्फत उनीहरूको वास्तविकता, योगदान र नेतृत्वलाई दृश्य बनाउन सम्मेलनले आग्रह गरेको छ । यसै गरी आदिवासी जनजाति, आदिवासी महिला, अपाङ्गता अधिकार, महिला अधिकार, युवा लगायतका आन्दोलनबिच क्षेत्रीय ऐक्यबद्धता तथा सहकार्य सुदृढ गर्न र आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी महिला तथा किशोरीका संस्था र आन्दोलनका लागि समर्पित, पहुँचयुक्त तथा खुला प्रकारको वित्तीय स्रोत सुनिश्चित गर्न आह्वान गरिएको छ । एपीआईडब्ल्यूडीएनलाई थप सुदृढ गर्ने प्रतिबद्धता सम्मेलनले एपीआईडब्ल्यूडीएन लाई आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको आवाज, नेतृत्व, ऐक्यबद्धता र सामूहिक कार्यलाई सुदृढ गर्ने क्षेत्रीय मञ्चका रूपमा पुनः पुष्टि गरेको छ । सहभागीले सञ्जालको समावेशी तथा जबाफदेही सञ्चालन प्रणाली, अर्थपूर्ण सदस्यता र प्रतिनिधित्व, राष्ट्रिय तथा उपक्षेत्रीय समन्वय, युवा तथा अन्तर पुस्ता नेतृत्व, विषयगत सहकार्य, ज्ञान आदानप्रदान, सामूहिक पैरवी र दिगो स्रोत परिचालनलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनले क्षेत्रीय आन्दोलनलाई नयाँ ऊर्जा र दिशाका साथ अघि बढाउने नयाँ आन्दोलन निर्माणको सुरुवात भएको जनाउँदै साझा आवाजलाई साझा प्राथमिकतामा, प्राथमिकतालाई सामूहिक कार्यमा र सामूहिक कार्यलाई दिगो परिवर्तनमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनले ‘हाम्रा लागि हामी नै’ भन्ने मूल सिद्धान्तलाई आत्मसात् गर्दै आदिवासी अपाङ्गता भएका व्यक्ति, विशेष गरी आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीलाई आफ्ना अधिकार र प्राथमिकतासम्बन्धी निर्णयको केन्द्रमा राख्न सबै सरोकारवालालाई आह्वान गरेको छ । यो सम्मेलन संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष पाँच सेप्टेम्बरमा मनाउने गरी घोषणा गरेको पहिलो ‘आदिवासी महिला तथा बालिका अन्तर्राष्ट्रिय दिवस’ को ऐतिहासिक सन्दर्भसँगै सम्पन्न भएको हो ।