अर्घाखाँची । अविरल वर्षाका कारण अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडक पहिरो खसेपछि अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका-६ रातटारीदेखि घुम्तीसम्म तथा शीतगंगा नगरपालिका–१२ स्थित बसेरी जंगललगायतका क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी फलबहादुर तामाङले जानकारी दिए । सडक खुलाउन आवश्यक जनशक्ति परिचालन गरिएको तामाङले बताए । यस्तै, सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्डअन्तर्गत भण्डारनजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातार वर्षाका कारण सडकखण्डमा थप पहिरोको जोखिम रहेकाले अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।