काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) की अध्यक्ष करुणा कटुवालले नेपाली काँग्रेसको महाधिवेशनमा युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेकी छन् । कटुवालले सामाजिक सञ्जालमार्फत धनकुटाबाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको जानकारी दिएकी हुन् । धनकुटाको माटोले आफूलाई राजनीति मात्र नभई सम्बन्ध, अग्रजको सम्मान, सङ्घर्ष र जनताको दुःख बुझ्ने भावना सिकाएको उनले उल्लेख गरेकी छन् । पदभन्दा विश्वास र त्यही विश्वासप्रतिको समर्पण ठुलो हुने पाठसमेत धनकुटाबाट सिकेको उनको भनाइ छ । यिनै सिकाइलाई आत्मसात् गर्दै आफूले नेपाली काँग्रेस धनकुटाबाट महाधिवेशनमा युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको कटुवालले बताएकी छन् । उनले धनकुटाका वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा पालिका सभापतिले आफूलाई पुनः विश्वास गर्दै मन र मतसँगै जिम्मेवारीसहित विजयी गराउने विश्वास व्यक्त गरेकी छन् ।