राप्रपा नेतृ कुन्ती पोखरेलले सुरु गरिन् ‘चौतारी चिया क्याफे एन्ड रेस्टुरेन्ट’

  • शनिबार १० असो २०८३ ०८:४७ PM
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ कुन्तीदेवी पोखरेलले काठमाडौँको पुरानो बानेश्वरमा सुरु गरेको नयाँ व्यवसाय ‘चौतारी चिया क्याफे एन्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । राप्रपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले शनिवार रिबन काटेर क्याफे तथा रेस्टुरेन्टको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुस्बु ओली, पार्टीका नेता एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा, पार्टीका नेता एवम् पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, पूर्व मन्त्री विक्रम पाण्डेलगायतको उपस्थिति थियो । शुभारम्भपछि राप्रपा अध्यक्ष लिङ्देनले राजनीति पेसा नभई सेवाको सर्वोत्तम माध्यम भएको बताएका छन् । राजनीतिमा रहने हरेक व्यक्ति कुनै न कुनै स्वार्थ नबाझिने पेसासँग जोडिनुपर्ने उनको भनाइ छ । लिङ्देनले सामाजिक सञ्जालमार्फत पोखरेलले पुरानो बानेश्वरमा ‘चौतारी चिया क्याफे एन्ड रेस्टुरेन्ट’ शुभारम्भ गरेको उल्लेख गर्दै उनको व्यावसायिक यात्राको सफलताको शुभकामना दिएका छन् । राप्रपा संसदीय दलकी प्रमुख सचेतक खुस्बु ओलीले पनि पोखरेलको नयाँ व्यावसायिक यात्राको सफलताको शुभकामना दिएकी छन् । उनले पोखरेलले पुरानो बानेश्वरमा ‘चौतारी चिया क्याफे एन्ड रेस्टुरेन्ट’ शुभारम्भ गरेको उल्लेख गर्दै सफलताको शुभकामना दिएकी हुन् । त्यस्तै, राप्रपा नेता एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले महिला उद्यमी तथा राप्रपा नेतृ पोखरेलले सञ्चालनमा ल्याएको ‘चौतारी चिया क्याफे’को शुभारम्भ समारोहमा सहभागी भएको बताएका छन् । थापाले सोही अवसरमा स्वदेशी ब्रान्ड ‘पोज फेसन’का पोसाक अवलोकन गर्ने अवसरसमेत प्राप्त भएको उल्लेख गरेका छन् । उनले पोखरेलको निरन्तर लगनशीलता र मेहनतको प्रशंसा गर्दै व्यवसायको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् । पोखरेल पुरानो बानेश्वरमा यस अघि नै ‘पोज फेसन’ सञ्चालनमा छ । पोखरेल काठमाडौँ क्षेत्र नम्बर २ मा २०७९ र २०८२ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार थिइन ।