३५ उपसचिवको सरुवा: काठमाडौँका सात नगरपालिकासहित २२ प्रमुख प्रशासकीय अधिकृत फेरिए (सूची)

  • शनिबार १० असो २०८३ ०६:४५ PM
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार ३५ जना राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिवको सरुवा भएको छ । सरुवा सूचीअनुसार २२ वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । काठमाडौँका मात्रै सात वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । काठमाडौँमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका नगरपालिकामा कागेश्वरी मनोहरा, शंखरापुर, गोकर्णेश्वर, बुढानीलकण्ठ, कीर्तिपुर, दक्षिणकाली र तारकेश्वर नगरपालिका रहेका छन् । त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत हेरफेर भएका छन् । काठमाडौँ उपत्यकाबाहेकका १३ नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । काभ्रेपलान्चोकका धुलिखेल र पाँचखाल नगरपालिका, मकवानपुरको थाहा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । यसै गरी डोटीको दिपायल सिलगढी नगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, बैतडीको पाटन नगरपालिका, सप्तरीको खडक नगरपालिका र धनुषाको कमला नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । १० उपसचिवलाई दोहोर्‍याएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यस पटकको सरुवामा १० जना उपसचिवलाई दोहोर्‍याएर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको छ । सामान्यतः एउटै उपसचिवलाई दोहोर्‍याएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाउने अभ्यास कम हुने गरेको छ । दोहोर्‍याएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने उपसचिवमा दिनेशराज पन्त, टेकराज अर्याल, हरेन्द्रकुमार श्रेष्ठ, श्रवणकुमार साह, अजय बर्तौला, देवराज चौलागाई, मोहनकुमार श्रेष्ठ, नेत्रबहादुर ओली, राममणि काफ्ले र धर्मराज लम्साल रहेका छन् ।