रसुवा । भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन् । बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ बताउँछन् । उनका अनुसार बाढी आउनु अगाडि सहज रूपमा सामान ढुवानी हुने गरेको र बजार मूल्य सस्तो थियो । “सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले ढुवानी खर्च मात्रै प्रतिपटक रु ५० हजारभन्दा बढी लाग्ने गरेको छ । अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए हामी व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो”, उनले भने । अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठको अनुभव उस्तै छ । पहिले मागअनुसार सहजै सामान भित्रिने र ढुवानी खर्च सस्तो पर्ने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको उनि बताउँछन् । भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको बन्दाकोपी (काउली) सडक अवरुद्ध भएकै कारण बजारसम्म पुर्याउन सकिएको छैन । रसुवाको गतलाङमा फलेको लाखौँ मूल्य बराबरका बन्दाकोपी बारीमै कुहिएको छ । गत्लाङका स्थानीय फुर्पु सिङ्गी तामाङले दुःख व्यक्त गर्दै भने, “बाढी गएको एक महिना बित्यो । राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन । कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो । त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।” सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ । जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सडक नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न नागरिकका लागि हेलिकप्टरको खर्च धान्न असम्भव प्रायः छ । तामाङले भने, “जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन ।” दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर सडक खुलाउने काम निरन्तर भइरहेको छ । प्रजिअ पाण्डेले भने, “सडक खुलाउने काम भइरहेको छ । डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ । उनले गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गरेका थिए । उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने तथा ‘हिमनदी र बाढी ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्’ भनी उल्लेख गरेका थिए । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गरेका थिए । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए । यसैगरी, प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिएका थिए ।