काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तरराष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा आज आयोजित’ समूह–७७ र चीनको ५०औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ । उनले संयुक्त राष्ट्रसङ्घ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई थप सुदृढ गर्न, पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गरे । आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा उनले जोड दिए । नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु न्यायको आवश्यकता औँल्याए । उनले जलवायुजन्य विपद् सामना गर्न अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने बताउँदै साझा समृद्धिका लागि नर्थ–साउथ, साउथ–साउथ र त्रिकोणीय सहयोगलाई थप सुदृढ गर्न आह्वान गरे ।