काठमाडौँ । जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा नेपालद्वारा आज आयोजित ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम भएको हो । नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमाल, नदी, समुद्र तथा तटीय र द्वीपीय क्षेत्र जलवायु परिवर्तनका दृष्टिले परस्पर जोडिएका पारिस्थितिक प्रणाली भएकाले जलवायु सङ्कट सम्बोधनका लागि सामूहिक र समन्वित प्रयास आवश्यक रहेको बताए । परराष्ट्रमन्त्री खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमालदेखि समुद्रसम्मको साझा जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । परराष्ट्रमन्त्री खनालले भने, “तपाईंहरूको साझेदारीले हिमाली, द्वीपीय र तटीय क्षेत्रका दृष्टिकोणलाई एउटै संवादमा ल्याएको छ ।” नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मन्त्री खनालले गत २६ अगस्ट (भदौ १०) मा लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा भोटेकोशी बाढी गएको जनाउँदै यसबाट ठूलो जनधन तथा महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको बताए । उनले उक्त घटनालाई आफूले ‘हिमालयन सुनामी’ का रूपमा वर्णन गरेको उल्लेख गर्दै भने, “घाउहरू अझै ताजा छन् । यस्तो अवस्थामा यो विषयमा छलफल गर्नु उपयुक्त समय हो ।” परराष्ट्रमन्त्री खनालले ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणा जलवायु प्रणाली राजनीतिक सीमाभन्दा पर रहेको यथार्थमा आधारित रहेको बताए । पृथ्वीको सर्वोच्च शिखर सगरमाथा तथा हिमालय क्षेत्रलाई ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा ठूलो हिम तथा हिउँ भण्डार रहेको ‘थर्ड पोल’ अर्थात् ‘तेस्रो ध्रुव’ का रूपमा व्याख्या गर्दै उनले यस क्षेत्रमा ६३ हजार ७०० भन्दाबढी हिमनदी रहेका जानकारी दिए । परराष्ट्रमन्त्री खनालले सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिमनदीलाई ‘आइस रिजभ्र्वायर्स’ अर्थात् ‘बरफका जलाशय’ का रूपमा वर्णन गरेको स्मरण गरे । हिमनदीबाट निस्कने पानी नदी हुँदै पारिस्थितिक प्रणाली र समुदायलाई पोषण गर्दै समुद्रसम्म पुग्ने बताउँदै उनले पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ हिस्सा गुमाइसकेको जानकारी दिए । परराष्ट्रमन्त्री खनालले हिमनदीको ह्रासले नदीको बहावमा परिवर्तन ल्याउँदै तल्लो तटीय क्षेत्रका जनजीवनमा असर पारिरहेको र अर्कोतर्फ द्वीपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताए । उनले भने, “नक्सामा हेर्दा हिमाल र समुद्र एकअर्काबाट टाढा देखिन सक्छन्, तर प्रकृतिले हामीलाई त्यसको विपरीत कुरा बताउँछ ।” जलवायु सङ्कटका विषयमा सम्बोधनका लागि मन्त्री खनालले पाँच वटा प्रस्ताव अघि सारेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनले विज्ञान, नीति र लगानीले हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको पारिस्थितिक निरन्तरतालाई स्वीकार गर्नुपर्ने धारणा राखेका थिए । जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिँदै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनामा यसको व्यवस्थित समावेश गरिनुपर्नेमा परराष्ट्रमन्त्री खनालले जोड दिए । विश्वको तापक्रम वृद्धिलाई १