काठमाडौँ । नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज आयोजना गरेको विशेष कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताए । नेपालले पछिल्ला जलवायुजन्य विपद्का घटनापछि जलवायु परिवर्तनका कारण सिर्जित जोखिम र त्यसको प्रभावलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सन्दर्भमा भएको उक्त कार्यक्रममा उनले गत महिना लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति भएको बताए । उक्त घटनालाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै उनले जलवायुजन्य विपद्बारे बहस अपरिहार्य भएकामा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनालले हिमालय क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वको सबैभन्दा विशाल हिम भण्डार भएको वास्तविकता सुनाउँदै यस क्षेत्रबाट ६३ हजार ७०० भन्दा बढी हिमनदी बग्ने गरेका बताए । पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ भाग गुमाइसकेको बताउँदै उनले हिमनदीको ह्रासबाट तल्लो तटीय क्षेत्रका समुदायलाई असर पारिरहेको बताए । द्विपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताउँदै मन्त्री खनालले हिमाल र समुद्रलाई छुट्टाछुट्टै नभई परस्पर जोडिएको जलवायु प्रणालीका रूपमा हेर्नुपर्नेमा जोड दिए । जलवायु सङ्कट सम्बोधनका लागि विज्ञान, नीति र लगानीमा हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको सम्बन्धलाई समेट्नुपर्ने, जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिनुपर्ने तथा विश्वको तापक्रम वृद्धिलाई १