कर्णालीमा पर्यटन दशकका बिषयमा छलफल

  • शुक्रबार​ ९ असो २०८३ ०५:१४ PM
सुर्खेत । कर्णालीमा पर्यटन दशक मनाउने बिषयमा छलफल शुरु भएको छ । कर्णालीका होटेल व्यवसायी र प्रदेश सरकारले पर्यटन दशक मनाउने बिषयमा छलफल गरेका हुन् ।  होटल व्यवसायी संघ सुर्खेत, कर्णाली प्रदेश समितिका पदाधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीबीच भएको छलफलमा पर्यटन दशक मनाउने बिषयमा छलफल भएको छ ।  मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक विकास पर्यटन क्षेत्रसँग जोडेर गर्न सकिने र त्यसका लागि होटल व्यवसायीहरुको सक्रियता जरुरी रहेको बताए । उनले कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन र पर्यटन दशक मनाउने सम्बन्धमा गर्न सकिने कामहरुका बारेमा होटेल व्यवसायीसँग जिज्ञासा राखेका थिए ।  पर्यटन दशकको तयारी गर्नु अघि पर्यटकीय क्षेत्रहरुसम्म जाने बाटोको सहजता हुनुपर्ने र त्यहाँ नजिकै रहेको जग्गाको उपलब्ध गराएर होटल क्षेत्रमा समेत लगानी भित्र्याउन सकिने कार्यक्रममा होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले बताए ।  कर्णालीमा होटलहरुको वर्गीकरण गर्न र पर्यटक बोक्ने गाडीको नम्बर प्लेट दिने सरकारले पहल गरिदिन होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रतिभा वलीले आग्रह गरिन् । सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद हुने समयमा यहाँका होटलहरुले व्यवस्थापनका सम्बन्धमा समेत मुख्यमन्त्री शाहीले होटल व्यवसायी संघका प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।