सुर्खेत । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि कर्णाली राजमार्ग र कर्णाली कोरिडोरमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार रातिदेखि कालिकोटमा निरन्तर वर्षा भइरहेकाले सडक तथा राजमार्गमा बाढी र पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रवारदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार जिल्लाअन्तर्गत कर्णाली कोरिडोर र कालिकोट–जुम्ला सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ । वर्षाका कारण राजमार्गमा हुनसक्ने जोखिमबाट मानवीय तथा भौतिक क्षति हुन नदिन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराईले वर्षाका कारण राजमार्गमा जोखिम बढेकाले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सबैलाई जानकारी गराइएको बताए । यस्तै, जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि कर्णाली राजमार्ग र कर्णाली कोरिडोरमा यातायातका साधन सञ्चालनमा रोक लगाएको जनाएको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शुक्रवारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा हिम पहिरोसहित भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले थप सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नदी तटीय तथा बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक काम नपरी यात्रा तथा हिँडडुल नगर्नसमेत प्रशासनले अनुरोध गरेको छ । त्यस्तै, जोखिमपूर्ण मौसमका बेला नदीबाट काठ छोप्ने, माछा मार्ने, ढुङ्गा–बालुवा निकाल्नेलगायतका गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ । भारी वर्षाका कारण कर्णाली राजमार्ग र कोरिडोरमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढेकाले अत्यावश्यक सेवाका साधनबाहेकका सवारी साधनको आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।