काठमाडौँ । देशका विभिन्न भागमा असोज नौ गते शुक्रवारदेखि ११ गते आइतबारसम्म मेघ गर्जन, चट्याङ, हावाहुरी, हिमपातसहित भारी वर्षाको सम्भावना रहेकाले गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मौसमसम्बन्धी विशेष बुलेटिन, विशेष बाढी पूर्वानुमान बुलेटिन तथा उच्च सतर्कताका लागि जारी गरिएको एड्भाइजरीअनुसार आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको हो । नेपाल मौसम विज्ञान विभागबाट मौसमसम्बन्धी विशेष बुलेटिन, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट विशेष बाढी पूर्वानुमान बुलेटिन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उच्च सतर्कताका लागि एड्भाइजरी जारी भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सम्बन्धित आधिकारिक निकायबाट जारी पूर्वानुमान तथा पूर्व सावधानी अपनाउनेसम्बन्धी जानकारीको अनिवार्य पालना गर्न तथा गराउन आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । मन्त्रालयले विशेष बुलेटिन र एड्भाइजरीअनुसार उच्च सतर्कता अपनाउन तथा पूर्व तयारी र पूर्व कार्यका लागि पूर्व सूचना र पूर्व सतर्कताको जानकारी सम्भावित जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायमा समयमै सम्प्रेषण गरी सचेतना अभिवृद्धि गर्न आग्रह गरेको छ । त्यस्तै, विपद्सम्बन्धी जोखिम विश्लेषण गरेर मात्र सवारी साधन सञ्चालन गर्न तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने मानिसलाई विपद् प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्न भनिएको छ । हिमाली क्षेत्रमा भारी हिमपात तथा मौसम प्रतिकूल हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल यात्रामा नजान मन्त्रालयले आग्रह गरेको छ। पदयात्रा, हिमाल यात्रा वा उच्च हिमाली भू-भागमा रहेका पर्यटक तथा पदयात्रीलाई समेत तत्काल सुरक्षित स्थानमा फर्कन आग्रह गरिएको छ । सडक अवरुद्ध हुन सक्ने तथा पहिरोको उच्च जोखिम रहेकाले यात्रा गर्नुअघि सडक, आन्तरिक उडान र यातायात सेवा सञ्चालनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मन्त्रालयले अनुरोध गरेको छ । बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिलाई पूर्व तयारीका साथ सुरक्षित स्थानमा राख्ने व्यवस्थाका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ । यसका लागि स्थानीय प्रशासन र स्थानीय तहसँग आवश्यक सहयोग लिनसमेत आग्रह गरिएको छ । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय प्रशासन तथा प्रहरीबाट जारी हुने आधिकारिक सूचना र निर्देशनको अनिवार्य पालना गर्नसमेत आग्रह गरेको छ । आपत्कालीन अवस्थामा मौसम तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा विपद्को आपत्कालीन हटलाइन १२३४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता काफ्लेद्वारा जारी अनुरोधमा उच्च सतर्कता अपनाउँदै सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सबै पक्षलाई पूर्व तयारीमा जुट्न आग्रह गरिएको छ । ७७ वटै जिल्लाका सिडिओलाई बुधबार नै १० बुँदे परिपत्र यसअघि बुधवार नै गृह मन्त्रालयले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई १० बुँदे परिपत्र गरेको थियो । परिपत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा तयार गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, २०८३ तथा जिल्लागत रूपमा तयार गरिएका पूर्व तयारी तथा प्रतिकार्य कार्य योजनाको कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी मौसम पूर्वानुमान महाशाखाबाट जारी बुलेटिनअनुसार तोकिएका क्षेत्रमा उच्च सतर्कता अपनाई सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ । त्यस्तै, मनसुनसम्बन्धी बुलेटिनबारे जिल्लाभर सुसूचित गर्न तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभागबाट जारी ट्राभल एड्भाइजरीअनुसार आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । भारी वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू-क्षयलगायतका जोखिम तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमयुक्त अवधिभर अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन सबैलाई अनुरोध गर्न भनिएको छ । जोखिमयुक्त बस्तीमा पूर्व सतर्कता अपनाउन स्थानीय तहसँग समन्वय र सहकार्य गर्न तथा उक्त जोखिमयुक्त अवधिभर ट्रेकिङमा नजान र गइसकेकालाई सुरक्षित स्थानमा आउन वा ल्याउन सहजीकरण गर्न पनि सिडिओलाई निर्देशन दिइएको छ । विपद्अघि र पछि हुनसक्ने घटनालाई मध्यनजर गर्दै महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई सुरक्षित स्थानमा राख्न सम्बन्धित निकाय तथा संघसंस्थासँग समन्वय र सहकार्य गर्न भनिएको छ । त्यस्तै, नदी तटीय क्षेत्रमा टोली परिचालन गरी त्यहाँका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित अवस्थामा राख्न निर्देशन दिइएको छ । बुलेटिनअनुसार भारी वर्षा हुने अनुमान गरिएका स्थान तथा खोला किनारका बस्तीमा माइकिङ गरी सूचना प्रवाह गर्न र जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउनसमेत परिपत्रमा भनिएको छ । गृह मन्त्रालयले जिल्लास्थित अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यसरी, सम्भावित भारी वर्षा, बाढी, डुबान, पहिरो तथा अन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि केन्द्रदेखि जिल्ला तहसम्म पूर्व तयारी र प्रतिकार्य संयन्त्रलाई सक्रिय अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।