काठमाडौँमा बाढी पूर्वतयारी: नौ रुटमा सुरक्षा टोलीको माइकिङ, सुरक्षा निकायलाई रातभर अलर्ट रहन निर्देशन

  • बिहीबार ८ असो २०८३ ०६:५२ PM
काठमाडौँ । निरन्तर भइरहेको भीषण वर्षाका कारण नदी तट तथा डुबान क्षेत्रमा बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सम्भावित विपद्लाई लक्षित गर्दै उच्च सतर्कता अपनाएको छ । बाढीजन्य विपद्को पूर्वतयारीस्वरूप प्रशासनले काठमाडौँका विभिन्न नौ वटा रुट निर्धारण गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका संयुक्त सुरक्षा निकायका टोलीलाई गाडीमार्फत माइकिङका लागि परिचालन गरेको हो । प्रमुख जिल्ला अधिकारी (सिडिओ) इश्वराज पौडेलको प्रत्यक्ष निर्देशनमा तथा उनले स्वयं रेकर्ड गराउनुभएको पूर्वतयारीसम्बन्धी सूचना ठुलो आवाजमा बजाउँदै सुरक्षा निकायका गाडी दिउँसो र साँझ गरी दुई चरणमा बस्ती-बस्तीमा माइकिङका लागि खटिएका छन् । बाढी र डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै सिडिओ पौडेलले तीन जना सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) र सुरक्षा निकायलाई रातभर पूर्ण रूपमा ‘अलर्ट’ अवस्थामा रहन कडा निर्देशन दिएका छन् । आवश्यकता परेको खण्डमा जुनसुकै बेला आकस्मिक उद्धार र राहतका लागि बाहिर निस्कनुपर्ने परिस्थिति आउन सक्ने भएकाले सम्पूर्ण सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ । प्रशासनले बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा सुरक्षा टोली परिचालनका लागि नौ वटा रुट निर्धारण गरेको छ । रुट नम्बर १ अन्तर्गत चोभार गल्छी आसपासको क्षेत्रदेखि थापाथली पुलसम्म सशस्त्र प्रहरी निरीक्षक उत्तम तिमल्सिनाको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल दङ्गा नियन्त्रण रेजिमेन्ट, नीलबाराहीको टोली परिचालन गरिएको छ । रुट नम्बर २ अन्तर्गत टेकु दोभान, विष्णुमती पुल, गोङ्गबु, महादेव खोला, बालाजु, फुटुङ, टोखा र सामाखुसी क्षेत्रमा नेपाली सेनाका सहसेनानी समुन्द्र निरौलाको नेतृत्वमा नेपाली सेना, नरसिंह दल गण ब्यारेक, सिंहदरबारको टोली परिचालन गरिएको छ। रुट नम्बर ३ अन्तर्गत थापाथली, शंखमूल, बानेश्वर प्रहरी वृत्त, बालकुमारी पुल, नरेफाँट हुँदै जडीबुटी चोकसम्म प्रहरी सहायक निरीक्षक दिलीपसिंह थलालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँको टोली परिचालन गरिएको छ । रुट नम्बर ४ अन्तर्गत तीनकुने पुलबाट उत्तरतर्फ सिनामंगल, मूलपानी, साँखु, शंकरापुर हुँदै मनोहरा आसपासका क्षेत्रमा सशस्त्र प्रहरी नायब उपरीक्षक अमृत थापाको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल विपद् गण, सिनामंगलको टोली परिचालन गरिएको छ । रुट नम्बर ५ अन्तर्गत बुद्धनगर, धोबी खोला कोरिडोर, भंगाल र कपन आसपासका क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक संजु खत्रीको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल विपद् गण, सिनामंगलकै टोली परिचालन गरिएको छ । रुट नम्बर ६ अन्तर्गत टुकुचा नदी कोरिडोर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको टोली परिचालन गरिएको छ । रुट नम्बर ७ अन्तर्गत काठमाडौँ महानगरपालिकाभित्र पहिचान भएका डुबान हुने क्षेत्रमा नेपाली सेनाका जमदार टेकराज पाण्डेको नेतृत्वमा नेपाली सेना, नरसिंह दल गण ब्यारेक, सिंहदरबारको टोली परिचालन गरिएको छ । त्यस्तै, रुट नम्बर ८ अन्तर्गत थानकोट, बलम्बु, नैकाप र तीन थाना नदी किनारका क्षेत्रमा चन्द्रागिरि नगरपालिकाको टोली परिचालन गरिएको छ । रुट नम्बर ९ अन्तर्गत कलङ्की, खसिबजार र बल्खु खोला क्षेत्रमा काठमाडौँ महानगरपालिकाको टोली परिचालन गरिएको छ । लगातारको वर्षाका कारण वाग्मती, विष्णुमती, धोबी खोला, मनोहरा र बल्खु खोलालगायतका नदी तथा खोलामा जल सतह बढ्दै गएकाले नदी किनारका स्थानीय बासिन्दालाई सजग रहन प्रशासनले आग्रह गरेको छ । खोला किनारका होचा भूभाग तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई बहुमूल्य सामान, कागजात र आवश्यक सुरक्षा सामग्रीसहित सतर्क अवस्थामा रहन आग्रह गरिएको छ । कुनै पनि विपद्को स्थिति आएमा वा आपत्कालीन उद्धार आवश्यक परेमा तोकिएका कमान्डर वा नजिकैको सुरक्षा निकायमा तत्काल सम्पर्क गर्नसमेत प्रशासनले अनुरोध गरेको छ ।