अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

  • बिहीबार ८ असो २०८३ ०५:५४ PM
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यही असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । सभाको आजको बैठकमा अध्यक्ष दाहालले अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका हुन् । नेपाल मौसम विज्ञान विभागका अनुसार उत्तर अन्दमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई अति भारी वर्षाको सम्भावना देर्खिएको हो । विभागले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा ग्रेगान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकोले पूर्वतयारी अपनाउन आह्वान गरेको छ । बैठकमा अध्यक्ष दाहालले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तहलगायतका सरकारी संयन्त्रलाई सक्रिय एवं पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिम तथा त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्नसमेत सम्बद्ध सबैलाई निर्देश गएका छन् । यसैगरी, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गरेका थिए ।