भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

  • बिहीबार ८ असो २०८३ ०५:०१ PM
काठमाडौँ । नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।  प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।  पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि आज बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुकी ६:०० देखि विहान ६:०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ । मकवानपुर जिल्लाका कान्ति राजमार्ग, भैँसे-भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७:०० देखि सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । त्यसैगरी बिपी राजमार्ग पनि बेलुकी ६:०० देखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।  साथै नारायणगढ-मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८:०० देखि भोलि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।