बबई लिफ्टिङ आयोजना छिटो सम्पन्न गर्न तुलसीपुरवासीको हारगुहार

  • बिहीबार ८ असो २०८३ ०३:२५ PM
दाङ । तुलसीपुरवासीलाई गुणस्तरीय शुद्ध खानेपानी पुर्‍याउने उद्देश्यले साढे तीन वर्षअघि सुरु गरिएको बबई  लिफ्टिङ  योजना अझै अधुरो अवस्थामा छ । आयोजना समयमा सम्पन्न नहुँदा उपभोक्ता आधारभूत खानेपानी  पाउने हकबाट समेत वञ्चित हुन परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का सुशीला भट्टराई गुणस्तरीय खानेपानी पाउन त परैजाओस् एक वर्षदेखि धारामा पानी नआउँदा समस्या भोग्नुपरेको गुनासो गर्छीन् ।    उपभोक्ता तथा सरसफाइ संस्थाले सुरु गरेको बबई लिफिटङ खानेपानी आयोजना लामो समयसम्म अल्झि रहेपछि स्थानीयवासी  पटक–पटक खानेपानी संस्थामा पुगी छिटो सम्पन्न गर्न हारगुहार गरिरहेकी छिन् । संस्थानबाट बबईको लिफिटङ परियोजना सम्पन्न भएपछि मात्र तुलसीपुरमा खानेपानीका समस्याको समाधान हुने जवाफ पाउने गरेको उनले गुनासो गरिन् ।  उनले भनिन्, “गर्मीयाममा संस्थाले ट्याङकरबाट निःशुल्क पानी वितरण गरेपनि साउनदेखि भने छिमेकी गाउँबाट पानी ल्याएर  पिउने गरिएको छ । आयोजना समयमा पूरा नहुँदा घरमा सरसफाइ, शौचालय तथा अन्य कामका लागि प्रयोग गरिने पानी महगो शुल्क तिरेर ट्याङ्करबाट ल्याउन बाध्य परेको उनको भनाइ छ । यो समस्या सुशिलाको मात्र नभई टोलका २५ घर परिवारले लामो समयदेखि भोग्न परेको छ । खानेपानी संस्थाको सहलगानीमा अघि बढिरहेको लिफ्टिङ योजनामा विद्युत जडानलगायतका केही महत्त्वपूर्ण काम अझै बाँकी रहेको जनाइएको छ ।   संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार आयोजनाको काम फटाफट भएमा आगामी मङ्सिर पहिलो हप्तासम्ममा हुनेछ ।   अध्यक्ष भण्डारीका अनुसार विस २०७९ बाट सुरु भएको उक्त आयोजना तीन वर्षभित्र  सम्पन्न नभएपछि पुनः एक वर्ष म्याद थप गरिएको थियो । नेपाल सरकारको ७० प्रतिशत र खानेपानीका उपभोक्ताको ३० प्रतिशत समेत गरी रु ५६ करोड ८० लाख २४ हजारको लागतमा अघि बढिरहेको छ । हाल आयोजनाको पाइप जडान र एक दर्जन बढी ट्याङ्की निर्माणको काम भने सम्पन्न भएको छ । उक्त आयोजना सम्पन्न भएपछि एक सय लिटरप्रति सेकेन्ड पानीको आपूर्ति हुने अध्यक्ष भण्डारीले जानकारी  दिए । उनका अनुसार तुलसीपुरस्थित नयाँ बसपार्क, रानीजरुवा नगरपालिकाको–६ को  रजौरासहितका बस्तीमा खानेपानी आपूर्ति भई स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधान हुनेछ । यसैबीच, संस्थाले मुलकोट, राम्री, चिसापानी, घेरेनी, बाख्रे, छरछरे र पहरेमा भइरहेको अनधिकृत प्राकृतिक स्रोतको उत्खननलाई रोक्न तथा मुहानको संरक्षण गर्न पहल गरिरहेको उपाध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।