एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

  • बिहीबार ८ असो २०८३ ०३:४४ PM
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४-२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ ।  यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो ।  आज खेलको पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४-२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ । त्यसैगरी, आजै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३-५२ को जित हासिल गरेको हो । नेपालले खेलको पहिलो हाफमै ३७-२१ को स्कोर बनाएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६-३१ अगाडि रहँदै समग्रमा २१ अङ्कले जित हासिल गर्‍यो ।  यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो । यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ ।