काठमाडौँ । गायक शिव परियार र गायिका समीक्षा अधिकारी साङ्गीतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेका छन् । ´दसैँ तिहार साङ्गीतिक धमाका अमेरिका टुर २०२६´ का लागि अमेरिका उडेका शिव परियारले साङ्गीतिक कार्यक्रमसँगै रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई आफ्नो हैसियतले सकेको सहयोग गर्ने उद्देश्यसमेत रहेको बताएका छन् । परियारले गायिका समीक्षा अधिकारीसहित विमानस्थलमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अमेरिका यात्राबारे जानकारी दिएका हुन् । उनले यो विदेश यात्रा विशुद्ध रूपमा व्यावसायिक मात्र नभई बाढी तथा प्राकृतिक प्रकोपको चपेटामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा सकेको सहयोग पुर्याउने उद्देश्यले पनि समर्पित रहने बताएका छन् । ´दसैँ तिहार साङ्गीतिक धमाका अमेरिका टुर २०२६” का लागि अमेरिका प्रस्थान गर्दै…!´भन्दै परियारले आफूलाई दर्शक-श्रोताको माया, साथ र आशीर्वाद यस पटक पनि प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् । यता, समीक्षा अधिकारीका लागि भने अमेरिका यात्रा पहिलो हो । उनले आफ्नो साङ्गीतिक यात्रामा अर्को सुन्दर अध्याय थपिँदै गरेको भन्दै पहिलो पटक अमेरिका यात्रा गर्न पाउँदा खुसी व्यक्त गरेकी छन् । थ्री इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा अमेरिकाका विभिन्न सहरमा आफ्ना दर्शक तथा श्रोतामाझ साङ्गीतिक प्रस्तुति दिने अवसर पाएको उनले बताएकी छन् । ´यो मेरो पहिलो अमेरिका यात्रा भएकाले उत्साह, खुसी र नयाँ अनुभवको प्रतीक्षा अझ विशेष बनेको छ,' समीक्षा अधिकारीले सामाजिक सञ्जालमा लेखेकी छन् । उनले आफ्नो साङ्गीतिक यात्रामा सधैँ माया, साथ र आशीर्वाद दिँदै आएका दर्शक-श्रोताको साथ यस यात्रामा पनि रहने अपेक्षा गरेकी छन् । शिव परियार र समीक्षा अधिकारी दुवैले अमेरिकामा रहेका नेपाली दर्शक-श्रोतासँग प्रत्यक्ष भेटेर साङ्गीतिक प्रस्तुति दिने उत्साह सामाजिक सञ्जालमार्फत साझा गरेका छन् ।