काठमाडौँ । रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवातर्फको रिक्त एक सचिव पदमा बढुवाका लागि सहसचिव आभा श्रेष्ठ, चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम सिफारिस गरेको हो । समितिले ज्येष्ठताका आधारमा श्रेष्ठलाई पहिलो, बुढालाई दोस्रो र आचार्यलाई तेस्रो नम्बरमा सिफारिस गरेको छ । जसमा श्रेष्ठ तेस्रो पटक, बुढा दोस्रो पटक र आचार्य पहिलो पटक सचिव बढुवाका लागि सिफारिस भएका हुन् । श्रेष्ठ अहिले मधेस प्रदेशमा, बुढा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा तथा आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । ज्येष्ठताको आधारमा वरियता नमिचिए श्रेष्ठ नै सचिवमा बढुवा हुने सम्भावना छ । अहिले राष्ट्रिय सतर्कता केन्द्रमा सचिव पद रिक्त छ । रिक्त रहेको त्यहीँ पदपूर्तिका लागि बढुवा समितिले तीन सहसचिवको नाम सिफारिस गरेको हो ।